पत्रपत्रिकाबाट

नक्कली पर्वतारोही बनी प्रमाणपत्र लिने भारतीय जोडीलाई १० वर्षे प्रतिबन्ध

Image Title

काठमाडौँ, १५ भदौ, नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिवन्धसँगै उनीहरुले यसअघि नेपाल सरकार, पर्यटन विभागबाट पाएको आरोहणको प्रमाणपत्रसमेत रद्द भएको छ ।

छानबिन समितिले गर्‍यो प्रमाणित
महाराष्ट्र प्रहरीमा अधिकृतका रुपमा कार्यरत यो जोडीले सगरमाथा आरोहण गर्ने पहिलो भारतीय दम्पत्ति भएको दाबी गरेको थियो । मकालु एडभेन्चर प्रालिबाट आरोहणका लागि २ जना शेर्पा सहयोगीका साथ गएको टोलीले २३ मे अर्थात् १० जेठमा सगरमाथा शिखरको सफल आरोहणको दाबी प्रस्तुत गरेको थियो । राथोड जोडीको दाबी संचारमाध्यममा आएपछि भारतकै अन्य आरोहीले उनीहरुको आरोहणका सम्बन्धमा प्रश्न उठाउँदै नक्कली तस्वीर पेश भएको जिकिर गरेका थिए । त्यसपछि मन्त्रालयले राथोड जोडीको तथ्य पत्ता लगाउन उपसचिव टिकाराम पाण्डेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितिमा पर्यटन विभागका निर्देशक लक्ष्मण शर्मा र फोटो पत्रकार रामकृष्ण महर्जन सदस्य थिए । समितिले राथोड दम्पत्तिबाट नक्कली तस्वीर पेश भएको प्रमाणित गरेपछि उनीहरुमाथि प्रतिवन्ध लागेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

विभागले कसरी दियो प्रमाणपत्र ?
पर्यटन विभागले राथोड दम्पत्तिलाई सगरमाथामा सफल आरोहण गरेको प्रमाणपत्र दिएको थियो । यस समूहमा राथोड दम्पत्ति र दुई जना शेर्पा सहयोगी मात्र थिए । मन्त्रालयले यस समूहका लागि एकजना सम्पर्क अधिकृत समेत खटाएको थियो । पर्यटन विभागअन्तर्गत पर्वतारोहण शाखाका कर्मचारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस प्रकारको मिलेमतोमा शेर्पा सहयोगीको ठूलो हात रहने गर्छ ।  ‘सम्पर्क अधिकृत आधार शिविरमा बसेको हुन्छ,’ उनले भने, ‘आरोहीलाई लैजाने जिम्मा पाएको शेर्पा सहयोगीको विश्वास र तस्वीरको प्रमाणका आधारमा पर्वतारोहीलाई विभागले प्रमाणपत्र प्रदान गर्छ ।’

उजुरी नआउँदा नक्कली आरोहीको खोजी हुँदैन
आरोहीहरुका अनुसार शेर्पा सहयोगी र सम्पर्क अधिकृतलाई रकम खुवाएर मिलेमतोमा आरोहणको प्रमाणपत्र लिने आरोही धेरै हुन्छन् । तर, नेपालमा नक्कली तस्वीर प्रमाणित गर्ने उच्च प्रविधिको अभाव र उजुरी नआएपछि यस प्रकारका गतिविधिको छानविन हुँदैन । नक्कली आरोहण निरुत्साही गर्न शेर्पा सहयोगीको भूमिका महत्वपूर्ण हुने श्रेष्ठले बताए ।

यसअघि एक मात्र उदाहरण 
विभागका अनुसार सन् २००१/०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा तीन वर्षको प्रतिवन्ध लगाइएको थियो । तर, प्रमाणपत्र खारेज भएको इतिहास भने पहिलो हो । भारतीय जोडीमाथिको प्रतिवन्धले नेपालमा गैरकानूनी गतिविधि गर्नेमाथि कारवाही हुन्छ भन्ने सन्देश प्रवाह भएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

दुई शेर्पा फरार, कर्मचारीलाई चेतावनी
भारतीय जोडीमाथि छानविन शुरु भएपछि उनीहरुको सहयोगीका रुपमा खटिएका शेर्पा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा फरार भएको मन्त्रालयको भनाई छ । ‘उनीहरुको खोजी र अनुसन्धान जारी छ’, मन्त्रालयका सहसचिव उपाध्यायले भने, ‘सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारी र प्रमाणपत्र दिने अधिकारीलाई चेतावनी दिइएको छ ।’ (यो समाचार आजको नयाँ पत्रिकाबाट साभार गरिएको हो)





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();