राजनीति

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन : नेता पोखरेल

Image Title

काठमाडौँ, २० भदौ, नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन् । उनले भने, 'विगतमा हामीले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गरौं भन्दा कांग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं र मधेशीको सबै माँग सम्बोधन हुन्छ भनेको र हामीले सोही बमोजिम संविधान संशोधन गरेका हौं, फेरि अर्को संशोधन भन्ने अधिकार कांग्रेसलाई छैन् ।'

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,'कसैका लागि आवश्यक नभएको विषयमा कांग्रेस किन रुचि राख्छ, यसमा काँग्रेसले क्षमायाचना गर्नुपर्छ, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार कांग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन् ।'

उनले अघि थपे, 'निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दैहुनुहुन्छ ?, निधीले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन ।'
संविधानले कुनै पनि समूदायलाई विभेद नगरेको उल्लेख गर्दै नेता पोखरेलले भने,' यो सविधानले कसैलाई विभेद गरेको छैन, केही सामाजिक विभेदहरु छन्, तर संवैधानिक विभेद छैन् ।'

संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरु साधक बनेको भनेर हल्ला फैलाईएको आरोप लगाउँदै उनले भने,'मधेशी मोर्चाको आन्दोलन संविधान संशोधनको लागि भन्दापनि एमालेको विरोधको लागि मात्र हो, एजेण्डामा होईन् ।'

पोखरेलले मधेशी मोर्चाले भन्ने बित्तिकै एमालेले संविधान संशोधनमा सहयोग नगर्ने अडान लिए । उनले अघि भने,'के विषयमा संशोधन गर्ने, औचित्य स्पष्ट नगरी अमुर्त कुरा गरेर कसैको विशेष निर्देशन पालना गर्नको लागि गर्ने भनिएको संविधान संशोधनको पक्षमा एमाले छैन, कसैको निर्देशन पालना गर्न जरुरी छैन् ।'

राष्ट्रिय समस्याको विषयमा आफ्नो पार्टी छलफल गर्न तयार रहेको उल्लेख गर्दै नेता पोखरेलले भने,'एमालेसँग छलफल र सहमति नगरी संशोधनको प्रस्ताव आयो भने एमाले विपक्षमा रहन्छ, एमाले पहलकदमी र सहमति विना संशेधनको सम्भवाना छैन ।' उनले संविधान कार्यान्वयन गर्दै जाँदा समस्या उत्पन्न भएमात्रै संशोधन गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । 'कार्यान्वयन नै नभई संशोधनेका कुरा हुँदैन,' उनले थपे ।

नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको लागि एमालेको सहयोग अनिवार्य रहेको बताउँदै भने,'संविधान संशोधनको लागि दुईतिहाई चाहिन्छ, त्यो एमाले, राप्रपा नेपाल, माले लगायतका विपक्षी दलहरुले साथ दिएमात्रै सम्भव छ, उहाँहरुले साथ दिनुभयो भने संशोधन हुन्छ, होईन भने गाह«ो हुन्छ ।' उनले संशोधनको लागि दलहरूवीच राष्ट्रिय सहमति बन्नुपर्ने बताए । उनले अघि थपे,'संशोधन प्रस्ताव दर्ता गरेरमात्रै हुँदैन ।'

नेता रायमाझीले संविधान निर्माण र जारी गर्दाको जस्तै संशोधन र कार्यान्वयनको लागि दलहरुवीच सहमति, सहकार्य र एकताको आवश्यकत्ता औल्याउँदै भने,'एमालेले पनि यसमा सहयोग गर्नुपर्छ ।' उनले संविधान कार्यान्वयन गर्दा आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताए ।

'संविधान संशोधन नगरी अहिलेकै अवस्थामा चुनाव हुन कठिन छ, संशोधन प्रस्ताव पेश गरेरमात्रै मधेशी मोर्चाका साथीहरुले त्यसैलाई ईस्यु बनाएर चुनावमा जाने हो भने निर्वाचन हुन सक्छ, प्रस्ताव जाने तर संशोधन नहुन पनि सक्छ, प्रस्ताव लैजानको लागि हामी तयार छौं', उनले प्रस्ट्याए ।

संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होईन ः विश्वकर्मा
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान संशोधन स्वयम् संविधान कार्यान्वयनको एउटा पाटो भएको स्पष्ट पारेका छन् । उनले भने,'संविधान कुनै जंगबहादुर र महेन्द्रको शालिकजस्तो होईन, यो गतिशिल दस्तावेज हो, जति संशोधन हुन्छ जनताको भावना त्यति नै प्रतिनिधित्व हुन्छ ।'

विश्वकर्माले सहमति, सम्वाद र सहकार्यबाटै समस्याको समाधान खोजिनुपर्ने बताउँदै मुलुकका वर्तमान समस्याहरुलाई हल गर्न दलहरुवीच सहमति हुनुपर्ने धारणा राखे । उनले भने,'मुलुकलाई निकास दिने कुरामा दलहरुवीच सहमति अनिवार्य आवश्यकत्ता हो, अहिले छलफल जारी छ ।'

उनले एमालेले मधेशीलाई विदेशी देखेको आरोप लगाउँदै भने,'एमालेको यो प्रवृति राम्रो होईन, यसरी समस्याको समाधान हुँदैन्, एमालेपनि जिम्मेवार बन्नुपर्छ ।' विश्वकर्माले संविधान संशोधन प्रस्ताव छिट्टै संसदमा पेश हुने विश्वास समेत व्यक्त गरे ।

उनले अघि थपे,'प्रस्ताव पेश भएपछि जायज र नाजायज मागहरु के हुन भन्ने कुरा त्यहीँ छुटिन्छन, जायजहरु मागहरु पूरा हुन्छन्, नाजायज फेल हुन्छन्, यो सार्वभौम संसदको कुरा हो ।'

उनले विगतको ईतिहासलाई केलाउँदा मुलुकलाई संकटबाट पार लगाउन कांग्रेसले नेतृत्व लिनुपरेको उल्लेख गर्दै अहिलेपनि मुलुकका सबै समस्याहरुको समाधानको लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

मधेशी मोर्चाका नेता एवम् फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमालेले अहिले जतिसुकै फुर्ति लगाएपनि संविधान संशोधनको पक्षमा उभिनुको विकल्प नभएको दाबी गरे ।

यादवले भने, 'एमालेले अहिले ठूलो–ठूलो स्वरमा संशोधनको विरुद्धमा बोलिरहेको छ, अब कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाले संशोधनको प्रस्ताव दर्ता गर्दा एमाले कतिको जिम्मेवार बन्छ त्यो त्यहीँ देखिन्छ ।' उनले संविधान संशोधन नेपाललाई डुबाउनको लागि नभई शान्ति, समृद्धि र नेपाललाई बचाउनको लागि भएको स्पष्ट पारे ।

उनले एमालेले सत्ता छाड्नु परेको पीडा र कुण्ठा पालेर राष्ट्रको भविष्य अन्धकार बनाउन खोजेको आरोप लगाउँदै भने,'कुण्ठा पालेर राष्ट्रको भविष्य मात्रै होईन, यसले अरुलाई भन्दा पनि स्वयम् एमालेलाई नै हानि गर्छ ।'

उनले आफूहरुको कोहीसँग दुश्मनी नभएको समेत बताए । उनले अघि थपे,'हाम्रो कुनै पार्टी र नेताविशेषसँग दुश्मनी छैन, कांग्रेसबाट सम्वादको लागि सहज हुन्छ भनेर हामीले यो विकल्प रोजेको हो ।'



अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();