समाज

सम्झौता कार्यान्वयनमा नआउँदा सप्तकोशीमा डुङ्गा दुर्घटना वर्षेनी

उदयपुर, ९ असोज, सप्तकोशी नदीमा वर्षेनी जसो डुङ्गा दुर्घटना हुने गरेको छ । दुर्घटनामा कतिपय यात्रु आफैँ पौडेर ज्यान बचाउँछन् त कतिपयको उद्धार गरिन्छ तर हरायकाहरु कहिल्यै भेटिदैनन् । यात्रुले सावधानी नअपनाउनु, स्थानीय प्रशासनले रेखदेख नगर्नु अनि डुङ्गा सञ्चालकको लापरबाहीका कारण मानवीय क्षति दोहोरिरहेको सरोकारवालाहरुले बताएका छन् । 

 

तीन वर्षअघि उदयपुर र सुनसरीका स्थानीय प्रशासन सहित दुबै जिविसले डुङ्गा सञ्चालन बारे गरेको सम्झौता कार्यान्वयनमा ल्याइएको छैन । यसैको परिणाम गत शनिबार सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर आउँदै गरेको डुङ्गा दुर्घटना ग्रस्त भयो । २०७० साउन र भदौमा कोशीमा डुङ्गा सञ्चालनका लागि उदयपुर र सुनसरी प्रशासनबीच विभिन्न बुँदामा सम्झौता भएको थियो । २०७० साउन १९ गते चतराघाटमा उदयपुर आउँदै गरेको डुङ्गा दुर्घटनामा परेको थियो । त्यसमा चार यात्रुले ज्यान गुमाएका थिए भने १५ जना बेपत्ता अझै फेला परेका छैनन् । शनिबारको दुर्घटनामा ३७ जनाको उद्धार भयो प्रहरीले नौ जना बेपत्ता भएको जनाएको छ । टापुका बासीन्दा भने ६० बढि यात्रु रहेकाले बेपत्ताको सङख्या बढि हुने दाबी गर्छन । 

 

चतराघाटको दुर्घटनापछि दुई जिविसले डुङ्गा सञ्चालन बारे दोहोरो सम्झौता गरेको जिविस उदयपुरका विपद व्यवस्थापन फोकल पर्सन विश्वजित राईले बताए । 'डुङ्गा सञ्चालनका बेला लाइफ ज्याकेट अनिबार्य गरिएको छ ।' उनले भने 'डुङ्गामा सवार यात्रुको अभिलेख राख्नुपर्ने, टिकट दिनुपर्ने जस्ता सम्झौता भएपनि पालना भएको छैन ।' वर्षायामा असार साउन भदौमा स्थानीय प्रहरीको सिफारिसमा मात्रै डुङ्गा सञ्चालन गर्ने सम्झौता पनि रहेको उनले जानकारी दिए । 

 

चतराघाट दुर्घटनापछि जिविस उदयपुरले सय थान लाइफ ज्याकेट किनेर डुङ्गा ठेकेदारलाई दिएको थियो । तर, चतराघाटमा पक्कीपुल बनेपछि डुङ्गा सञ्चालन हुन छाडेको थियो । त्यहाँ जिविसले उपलब्ध गराएको लाइफ ज्याकेट अहिले काठ तस्करी, माछा मार्न र लागुऔषध ओसारपसारमा प्रयोग भइरहेको स्थानीयबासी बताउँछन् । २०१५ सालदेखि डुङ्गा सञ्चालन थालिएको सप्तकोशी नदीमा त्यस यता वर्षैजसो दुर्घटना निम्ती रहेको श्रीलंका टापुका ७० वर्षिय महेश मेहेताले बताए । 'अहिले डुङ्गा दुर्घटना भएको घाटमै २०४५ र २०६४ सालमा पनि भएको थियो ।' उनले भने '२०४५ सालको दुर्घटनामा कति हताहत भए यकिन नै भएन तर २०६४सालको दुर्घटनामा ३२ जना यात्रु बेपत्ता थिए ।'

 

त्यसैगरी चतराघाटमा २०७० भन्दा पहिले पनि दुर्घटना भएको उनले बताए । जिविसले आम्दानीको स्रोत बढाउन तारघाटको ठेक्का लगाउने गर्छ तर प्रकाशपुरमा गाविसले ठेक्का लगाएको छ । ठेक्का लगाउने र ठेकेदारले कबोल रकम पूरा गर्न यात्रुको चाप र मौसम ख्यालै नगरी डुङ्गा चलाउने गरेको स्थानियले बताएका छन् ।





अन्य समाचार

धेरै पढिएको

    no Contents found

फेसबुक


जनमत

बाढी, पहिरोबाट वर्षेनी हुने क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिएला ?

 (function() { var aak = new CpxCenterAAK(1524, 69395, 70677); var zone = aak.addZone(106752, "#cc-573cbc0a38c60"); zone.render(); })();